• Menu

एक महिनामा बाढीपहिरो र डुबानमा परी १०१ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ असार २८, शुक्रबार १३:१७

एक महिनामा बाढीपहिरो र डुबानमा परी १०१ जनाको मृत्यु

काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परी हालसम्म १०१ जनाले ज्यान गुमाएका छन् ।

जेठ २८ बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १०१ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

‘जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरोमा परी १०१ जनाको मृत्यु, १०८ जना घाइते र ६ जना बेपत्ता भएका छन्,’ उनले भने ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढीबाट २७, पहिरोमा परी ५० र चट्याङबाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । अविरल वर्षाकै कारण हालम्म १०८ जना घाइते र जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकीमा एक रसुदूरपश्चिम प्रदेशमा एक जना छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा तीन, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा १०८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परेकाहरुको उद्धारका लागि ५०१ जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी देशव्यापी रूपमा तीनवटै सुरक्षा निकायबीचको समन्वय र सहकार्यसहित प्रभावित क्षेत्रमा परिचालित भई खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।