एजेन्सी । माल्दिभ्सका पूर्व विदेशमन्त्री अब्दुल्ला शाहिदलाई १८ वर्षमुनिका बालकलाई यौन दुर्व्यवहार गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ । माल्दिभ्स प्रहरीले सोमबार राति अदालतको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार ६४ वर्षीय शाहिदलाई नोभेम्बर २ अर्थात् सोमबार राति ९ बजेर ५९ मिनेटमा मालेस्थित एच राबी मन्जिलबाट पक्राउ गरिएको हो । प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
पक्राउपछि शाहिदले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले राजनीतिक रूपमा फैलाइएका दाबी निराधार र झुटा भएको बताउँदै अप्रमाणित आरोप प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् ।
सन् २०२८ मा हुने निर्वाचनअघि विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) बाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावित प्रमुख नेताका रूपमा शाहिदलाई हेरिएको थियो । उनी संयुक्त राष्ट्रसंघको महासभाका पूर्वअध्यक्षसमेत छन् ।
शाहिद माल्दिभ्सका अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक नेतामध्ये एक छन् । उनले पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको कार्यकालमा सन् २०१८ देखि २०२३ सम्म विदेशमन्त्रीका रूपमा काम गरेका थिए । सन् २०२१-२२ मा उनले संयुक्त राष्ट्रसंघको महासभाको ७६औँ सत्रको अध्यक्षता गरेका थिए ।
उनले माल्दिभ्सको संसद् पिपुल्स मजलिसको अध्यक्षका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । त्यस्तै, सन् २०२४ को फेब्रुअरीदेखि २०२६ को अगस्टसम्म एमडीपीको नेतृत्व गरेका थिए । पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीस्वरूप उनले नेतृत्वबाट राजीनामा दिएका थिए ।
गत महिना शाहिद नयाँदिल्लीमा आयोजित ‘बियोन्ड बोर्डर्स लिटरेचर फेस्टिभल २०२६’ मा सहभागी भएका थिए । उनलाई ‘स्पेस वी कल होम स् डायस्पोरा एन्ड बिलङ्गिङ’ शीर्षकको सत्रको अध्यक्षता गर्न आमन्त्रण गरिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । शाहिदमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन । रासस