• Menu

सभामुख अर्याल र स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच शिष्टाचार भेट

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १६:३१

सभामुख अर्याल र स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच शिष्टाचार भेट

काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजबीच भएको शिष्टाचार भेटवार्तामा उनले नेपालको प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै विकासका सम्भावना अघि बढाउन सकिने धारणा व्यक्त गरेका हुन्।

भेटमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउने तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सबल बनाउने प्रयासमा रहेको बताए।

त्यस अवसरमा सभामुख अर्यालले सन् २०२६ को अगस्टमा रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष पेज तथा स्वीस संघीय परराष्ट्र विभागले नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरेको समवेदनाका लागि आभार व्यक्त गरे।

उनले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको प्रशंसा गरे। साथै, मानवीय राहत तथा उद्धारका लागि संयुक्त राष्ट्रसंघमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको सहायताप्रति धन्यवाद व्यक्त गरे।

नेपाल स्विस विकास तथा सहयोग निकायको प्राथमिकताप्राप्त मुलुकमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले आगामी दिनमा नेपालसँगको विकास सहकार्य थप विस्तार हुने विश्वाससमेत व्यक्त गरे।

सभामुख अर्यालले हालै गठन भएको आठ सदस्यीय नेपाल–स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग तथा अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि बताए।

भेटवार्तामा राष्ट्रिय परिषद्का अध्यक्ष पेजले नेपालको प्राकृतिक स्रोतसाधन विकासका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै हिमाल तथा जलस्रोतको सदुपयोगबाट जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा राखे।

नेपाल र स्विट्जरल्यान्डबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै विकास सहकार्य र संसदीय अनुभव आदानप्रदानलाई अघि बढाउने विषयमा समेत भेटवार्तामा छलफल भएको थियो।