काठमाडौं । चौतर्फी दबाबपछि शुक्रबार पक्राउ परेका पत्रकारहरुलाई प्रहरीले रिहा गरेको छ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पत्रकारहरू रिहा भएको जानकारी दिएका छन् । साथै, उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
‘पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनले लेखेका छन् ।
यसअघि प्रधानमन्त्रीको सचिवालयले यो घटनामा प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी नभएको बताएको थियो । घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको बुझिएको छ ।
आज दिउँसो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराल पक्राउ परेका थिए ।
त्यस्तै प्रहरीले नयाँ पत्रिकाका पत्रकारहरु खगेन्द्र पन्त र नवराज मैनालीलाई पनि पक्राउ गर्न प्रहरी पुगेको थियो । प्रहरी टोली साढे २ घन्टापछि ८ बजे नयाँ पत्रिकाको कार्यालयबाट निस्किएको थियो ।