• Menu

मधेस प्रदेशमा झन्डै ९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह, धनुषामा सबैभन्दा बढी लगानी

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १५:३४

मधेस प्रदेशमा झन्डै ९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह, धनुषामा सबैभन्दा बढी लगानी

धनुषा । मधेस प्रदेशमा ८ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह गरेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मधेस प्रदेशका ८ जिल्लामध्ये धनुषामा एक अर्ब दुई करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

प्रतिवेदनअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ ।

त्यस्तै, सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । यस अवधिमा मधेस प्रदेशको प्रतिव्यक्ति जिडिपी अमेरिकी डलर ९३४ रहने अनुमान गरिएको छ ।

कृषि उत्पादनतर्फ मधेस प्रदेशमा फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीले ओगटेको क्षेत्रफल ४.४६ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल भने ४.४७ प्रतिशत र तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

उत्पादनतर्फ तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत तथा मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनतर्फ मासु र अन्डा उत्पादनमा क्रमशः १०.१९ र ३.११ प्रतिशत वृद्धि भएको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ । माछा उत्पादनमा ५.०५ प्रतिशत वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

कृषि, माछापालन तथा वन क्षेत्रमा पनि उल्लेख्य कर्जा प्रवाह भएको छ । २०८३ असार मसान्तसम्म मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा ५९ अर्ब ८६ करोड ९० लाख कर्जा प्रवाह भएको छ । यो प्रदेशमा प्रवाह भएको कूल कर्जाको १२.१० प्रतिशत हो ।

औद्योगिक क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले वृद्धि भई एक खर्ब २८ अर्ब ९७ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा एक खर्ब २८ अर्ब ९ करोड रहेको थियो । अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

घरजग्गा कारोबारतर्फ मधेस प्रदेशमा गत आर्थिक वर्ष एक लाख १६ हजार २०७ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन् । यसबाट रु तीन अर्ब २२ करोड राजस्व संकलन भएको छ ।

बैंकिङ क्षेत्रको वित्तीय अवस्थातर्फ २०८३ असार मसान्तसम्म मधेस प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर चार खर्ब ९४ अर्ब ९५ करोड कायम भएको छ ।

पूर्वाधार विकासतर्फ निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्व-पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं-तराई-मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई-मधेस संरक्षण कार्यक्रम यस प्रदेशसँग सम्बन्धित प्रमुख आयोजना हुन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, वैदेशिक रोजगारीका लागि मधेस प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका एक लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभरबाट श्रम स्वीकृति लिने कुल संख्याको २२.६० प्रतिशत हो ।

राष्ट्र बैंकको अध्ययनले मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको उच्च योगदान, बैंकिङ कर्जा तथा निक्षेपको अवस्था, औद्योगिक गतिविधि, घरजग्गा कारोबार र वैदेशिक रोजगारीको प्रवृत्तिलाई उजागर गरेको छ । रासस