धनुषा । जिल्लामा वन क्षेत्रको ८३७ हेक्टर जमिन अतिक्रमण भएको छ । बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो ।
जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित ‘वन अतिक्रमणको समस्या र समाधानका उपाय’ विषयक अन्तर्क्रियामा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो ।
जिल्लामा २७ हजार ५७८ हेक्टर जमिन वन क्षेत्र रहेकोमा ८३७ हेक्टर अतिक्रमण भएको कार्यालयका वन अधिकृत अनिलकुमार शाहले जानकारी दिए । जमिन अतिक्रमण गरी बस्ती, सडक विस्तारका साथै कतिपयले खेती गर्न थालेको उनको भनाइ छ ।
वन क्षेत्रलाई अतिक्रमणबाट जोगाउन वन कार्यालयले सरोकार भएका निकायसँग छलफल गरी ठोस योजना बनाइरहेको उनको भनाइ छ । शाहले यसमा प्रशासनिक निकाय तथा राजनीतिक दलहरुले पनि समन्वय गर्नुपर्नेमा जोड दिए ।
गत आर्थिक वर्षमा ३५ हेक्टर अतिक्रमित जमिन फिर्ता गराइएको शाहले बताए । ‘यो कार्य कठिन छ तर मुक्त गराउने प्रयास जारी छ,’ उनले भने, ‘कतिपय अवस्थामा वन कार्यालयका कर्मचारीको लापरबाही र मिलेमतोमा अतिक्रमण भइरहेको देखिन्छ । यसको समाधानका लागि नीतिगत तहदेखि योजनाबद्ध रुपमा काम गर्दै जानुपर्छ ।’
अन्तर्क्रियामा सहभागीले सरकारी वन क्षेत्रको अवैध कटान तथा अतिक्रमणले प्राकृतिक विपद्हरु बढ्दै गएकामा चिन्ता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले वन क्षेत्रको अतिक्रमण हटाउन वन कार्यालयले पहल गर्नुपर्ने बताए ।
त्यसमा स्थानीय नागरिक, राजनीतिक दलका साथै संघसंस्थाको सहयोग आवश्यक पर्ने उनको भनाइ छ । मधेस प्रदेशमा सबैभन्दा कम वन क्षेत्र धनुषामा छ ।