कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । असोजमा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका हुन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक छन् ।
गत वर्षको असोजको तुलनामा यो असोजमा दुई हजार ४१६ बढी पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । गत वर्ष असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
साउनयता सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन् । भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ पर्यटक आएका थिए । असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले पर्यटक आगमन बढेको हो ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो संख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्र पुग्ने गरेका छन् । शरद याम पदयात्राका लागि उत्तम मानिने हुँदा यसक्षेत्र पदयात्रा रूचाउने पर्यटकको रोजाइमा पर्छ ।
यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ ।
आयोजना प्रमुख डा. कडरियाका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्रलाई पर्यटकले रूचाउने गरेका हुन् ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।