• Menu

भेनेजुएलामा राजनीतिक हलचल, एक वर्षपछि मचाडो स्वदेश फर्किइन्

नेपाल प्रफिट

२०८३ कात्तिक ९, सोमबार १२:१४

भेनेजुएलामा राजनीतिक हलचल, एक वर्षपछि मचाडो स्वदेश फर्किइन्

एजेन्सी । भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन् । उनको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए ।

मचाडोको पुनरागमनलाई राजनीतिक संक्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।

मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाडेकी थिइन् । उनको पार्टीका अनुसार स्वदेश फर्कने उनका कम्तीमा सात प्रयास असफल भएका थिए । उनका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो ९ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा छन् । त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताएका छन् ।

मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उनलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ ।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो । अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ । रासस