• Menu

क्षेत्रीय सुरक्षा वार्ताका लागि साउदी, टर्की र पाकिस्तानका उच्च अधिकारी तेहरान जाने

नेपाल प्रफिट

२०८३ कात्तिक ९, सोमबार १३:४०

क्षेत्रीय सुरक्षा वार्ताका लागि साउदी, टर्की र पाकिस्तानका उच्च अधिकारी तेहरान जाने

एजेन्सी । इरानले क्षेत्रीय सुरक्षाबारे छलफल गर्न साउदी अरेबिया, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारी तेहरान आउने घोषणा गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीले सोमबार जानकारी दिँदै बैठकको मिति भने खुलाएका छैनन् ।

कानीका अनुसार बैठकमा साउदी अरेबियाका रक्षामन्त्री खालिद बिन सलमान, पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीर र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन सहभागी हुने छन् । उनीहरूले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईसँग छलफल गर्ने छन् ।

इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा कानीले चार   देशको बैठकले स्थायी क्षेत्रीय सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले यस पहलले क्षेत्रमा स्थिरता स्थापना गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । पाकिस्तानका सेना प्रमुख मुनीरले गत साता तेहरान भ्रमण गर्दा बैठकको प्रस्ताव गरिएको उनले जानकारी दिए ।

फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको छ । त्यतिबेला वासिङ्टन र तेहरानबीच इरानको आणविक कार्यक्रमबारे वार्ता चलिरहेको थियो ।

अप्रिलमा भएको युद्धविरामले तीव्र बमबारीको प्रारम्भिक चरण अन्त्य गरे पनि हर्मुज जलघाँटीको नियन्त्रणलाई लिएर तनाव कायम छ । विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलघाँटी हुँदै ओसारपसार हुने गरेको छ ।

इरानले जलघाँटीमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमति नलिई पार गर्न खोज्ने जहाजलाई नियमित रूपमा निशाना बनाएको छ । त्यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ ।

अमेरिका र इरानबीचको कूटनीतिक प्रयास पनि अवरुद्ध भएको छ । द्वन्द्वको स्थायी समाधानका लागि मार्ग खोल्ने अपेक्षा गरिएको सम्झौता भङ्ग भएपछि वार्ता थप कठिन बनेको छ । यसैबीच, यमनमा साउदी अरेबिया र इरान समर्थित हुथीबीचको लडाइँले पनि क्षेत्रीय तनावलाई थप विस्तार गरेको छ । रासस