अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता कात्तिक १३ देखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए । रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ । प्रथम हुने टोलीले मेडल र प्रमाणपत्रसहित दुई लाख तथा दोस्रो हुने टोलीले मेडल र प्रमाणपत्रसहित एक लाख पाउनेछन् ।
आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउनेछन् । हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन् ।
खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली र भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो । खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम संकलन भइरहेको क्लब जनाएको छ ।
रामारोशन क्षेत्र पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिका लागि पर्यटकीय गन्तव्य बनेको छ । त्यस्तै, पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरुको पहिलो रोजाइको गन्तव्य पनि रामारोशन हो । अहिले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक रामारोशन घुम्न आउने गरेका छन् ।
ठाउँ सुन्दर, रमणीय र मनमोहक भए पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहुँदा निकै सास्ती खेप्नु परेको गुनासो पर्यटकले गर्ने गरेको रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए ।
रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरैजसो पर्यटक पोखरा, चितवन, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट घुम्न आउने गरेका छन् ।
‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला ताल र १८ वटा ठूला घाँसेमैदान छन् । रामारोशन धार्मिक र पर्यटकीय रुपमा निकै महत्वपूर्ण क्षेत्र मानिन्छ । धार्मिक रुपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरुको बास भएको र प्राचीन कालमा शिवपार्वतीले तपस्या गरेको किंवदन्ती छ । त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ ।
(रासस)