दाङ । दंगीशरण गाउँपालिका–६ मा रहेको जनता माध्यमिक विद्यालय बुटनिया ६ वर्ष अघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर थियो । विद्यार्थी संख्या पनि अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालय त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
हालसम्म यस विद्यालयबाट एसइईका चारवटा ‘ब्याच’का विद्यार्थीले परीक्षा दिइसकेका छन् । परीक्षाको समग्र नतिजालाई हेर्दा एसइईका साथै कक्षा ८ को परीक्षामा पनि पश्चिम दाङकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ ।
विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारूका अनुसार गत वर्षको एसइई परीक्षामा ६ जनाले ‘ए प्लस’ ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । शिक्षक तथा कर्मचारीहरू विद्यालयप्रति पूर्ण रुपमा जिम्मेवार भएमा सफल भइन्छ भन्ने उदाहरण दिन सफल भएको थारूले बताए ।
२०७६ सालदेखि नै विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीका छोराछोरीहरूलाई अनिवार्य यही विद्यालयमा पढाउने निर्णय गरेर लागू गरिएको छ । त्यसले गर्दा पनि विद्यालयले यो नतिजा ल्याउन सफल भएको उनको बुझाइ छ ।
‘मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्,’ उनले भने, ‘अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ ।’
विद्यार्थीलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न विद्यालयमा प्रविधिको प्रयोग गरिएको छ । विद्यालयमा विषयवस्तुअनुसार अध्यापन गराउन तीनवटा स्मार्ट बोर्डको प्रयोग भइरहेको छ । साथै, विद्यार्थीको व्यावहारिक सिकाइका लागि एउटा विज्ञान प्रयोगशाला र अध्ययनका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । विद्यालयको आफ्नै चमेना गृह छ ।
शौचालयको समस्या
विद्यालयले केही भौतिक पूर्वाधार र जनशक्तिको भने समस्या खेप्नु परेको छ । विद्यार्थी संख्या बढ्दै जाँदा भवन र शौचालयको भने अभाव देखिएको छ । छात्राका लागि दुईवटा र छात्रका लागि एउटा मात्र शौचालय छ, जसले गर्दा विद्यार्थीले शौचालय जाँदा लाम लाग्नुपर्ने अवस्था छ ।
शिक्षक तथा कर्मचारीका लागि छुट्टै शौचालयको व्यवस्था छैन । विद्यालयमा दुई जना कर्मचारी र १५ जना शिक्षक कार्यरत छन् भने ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
२०५२ मा स्थापना भएको उक्त विद्यालयलाई २०७६ सालदेखि स्तरवृद्धिको पहल थालिएको थियो । तत्कालीन गाउँपालिकाका शिक्षा समितिका संयोजक वीरबहादुर वलीका अनुसार १ करोड बजेट विनियोजन गरेर भवन निर्माण गरिएको हो । त्यसपछि कक्षा थप गरेर अगाडि बढाइएको थियो । उनका अनुसार जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान थालेर केही शिक्षक पनि थप गरेपछि शिक्षामा सुधार आएको छ ।