• Menu

अधिक वर्षाले निम्त्याएको विपत् : ७८ जनाको ज्यान गयो, ४१ पुल बगे

नेपाल प्रफिट

२०८१ असार २५, १३:१७

अधिक वर्षाले निम्त्याएको विपत् : ७८ जनाको ज्यान गयो, ४१ पुल बगे

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ ।

गृह मन्त्रालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरा परेर ९० जना घाइते र पाँचजना वेपत्ता भएका छन् ।

बाढीपहिरोका कारण ३८१ पशु चौपायाको मरेका, ९८ गोठमा क्षति भएको, ५९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय रुपैयाँबराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।