• Menu

दसैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

नेपाल प्रफिट

२०८३ कात्तिक २, सोमबार ०७:०१

दसैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालिको दसैंको अवसरमा मुस्ताङ हुँदै ३५ करोड रुपैयाँ मूल्यबराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यो वर्ष उक्त मूल्यबराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उनले मुस्ताङबाट २२ करोड रुपैयाँभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट १३ करोड मूल्यबराबरको भेडा, च्याङ्ग्रा र च्यालु (माउ) यही बाटो हुँदै निकासी भएको जानकारी दिए ।

कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा  र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा र मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ । कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य ३३ हजार, भेडाको २२ हजार र च्यालु (रमा/माउ)को १० हजार रुपैयाँ कायम गरी निकासी गरिएको हो ।