काठमाडौँ । समयमै वर्षा भएपछि आइतबारसम्म मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार २३ सम्म सातै प्रदेशमा पाँच लाख ३९ हजार ७६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको हो ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४.२ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिए । सबैभन्दा कम मधेस प्रदेशमा २५.५ प्रतिशत रापाइँ भएको छ ।
आइतबारसम्म कोशी प्रदेशमा ३४.४ प्रतिशत, बागमती प्रदेशमा २५.५ प्रतिशत, गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत र कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्यांकमा उल्लेख छ ।
देशभर रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर छ । सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार १५० हेक्टर क्षेत्रफल छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टर छ । गत वर्ष असार २४ सम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ भएको थियो ।
नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । माग ६२ लाख मेट्रिक टन छ । नेपालमा गत वर्ष अपेक्षाअनुसार धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी चौलागाईंले बताए ।
यस वर्षको मनसुन जेठ ३१ देखि नेपाल प्रवेश गरेको हो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ सम्म मानिन्छ । यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ ।