भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।
पशुपन्छी तथा कृषि विकासका लागि ५६ लाख २० हजार रुपैयाँबराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा ९ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए । किसानलाई गोरु वितरणका लागि तीन लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।
‘हामीले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ,’ प्रशासकीय अधिकृत निरौलाले भने, ‘लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरु समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरुलाई केही राहत पुग्नेछ ।’
गोरु ५० प्रतिशत अनुदानमा वितरण गरिने उनले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ । किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागि समेत यो कार्यक्रमले टेवा पुग्ने उनको विश्वास छ ।
‘गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको छ,’ उनले भने, ‘गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।’ गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उनले बताए ।
किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्कृष्ट किसान सम्मान कार्यक्रम पनि सञ्चालन गरेको छ ।
‘गाउँपालिकाका किसानको जीवनस्तर सुधारकf लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ,’ अध्यक्ष राईले भने, ‘किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्नेछ ।’
किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिए ।