काठमाडौं । हजको लागि साउदी अरब गएका नेपाली यात्री ४२ दिनपछि नेपाल फर्किएका छन् । यो वर्षको हज यात्रा सहज रुपमा सम्पन्न गरी पाँचवटा फ्लाइटबाट नेपाल फर्किएको हज कमिटीका अध्यक्ष इसरा मुल्ला मियाँले बताए ।
यो वर्ष हज यात्रा कमिटीका सदस्य र दुई जना चिकित्सकसहित ७६४ जना हजको लागि साउदी अरब पुगेका थिए । हज यात्राको लागि प्रतिव्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरिएको थियो । कमिटीका सदस्य र चिकित्सकको लागि सरकारले टिकटको सुविधा प्रदान गरेको अध्यक्ष मियाँले बताए ।
सन् २०२१ सालदेखि नेपाल सरकारमार्फत हजयात्रामा जाने क्रम सुरु भएको हो । त्यसअघि भने हजयात्री भारतको मुम्बई हुँदै पानी जहाजबाट साउदी अबर पुग्थे ।
सन् २०२० सालमा रौतहट जिल्ला भएको मुस्लिम अगुवाहरुको भेलाले सरकारसँग हज समितिको माग गरेको हो । त्यसपछि हज कमिटी गठन गरी सरकारमार्फत हजमा जाने क्रम सुरु भएको हो ।
इस्लाम धर्मका प्रमुख स्तम्भ इमान, नमाज, रोजा, जकात र हज हुन् । स्वस्थ्य र आर्थिक हिसाबले सक्षम व्यक्तिहरु जीवनमा कम्तीमा एक पटक अनिवर्य हर्ज जानुपर्ने मान्यता रहँदै आएको छ ।
हजको मुख्य विधि हिजरी पात्रोको १२औँ महिना जुलहिज्जाको ८ देखि १२ तारिखसम्म गरिन्छ । यसबाहेक पनि हजयात्री महिना दिनसम्म मक्का र मदिनामा विभिन्न धार्मिक कर्ममा सहभागी हुन्छन् । जुलहिज्जाकै १० तारिखमा इस्लाम धर्मावलम्बीको अर्को ठूलो चाड बक्र ईद पर्छ ।
हजयात्रामा जानेहरुले मक्का पुग्नुअघि नै सेतो रङको नसिलाइएको कपडा लगाउनुपर्छ । जसलाई एहराम भनिन्छ । यो कपडा लगाएपछि हजको प्रक्रिया सुरु भएको मानिन्छ । मम्का पुगेर तवाफ र सई गरेपछि मात्र अर्को कपडा लगाउने गरिन्छ ।
काबाको सात पटक परिक्रमा गरिन्छ । जसलाई तवाफ भनिन्छ । त्यस्तै, सई पनि हजयात्रीको अर्को प्रमुख कार्य हो । सईपछि पुरुषहरुले कपाल खौरिने गर्छन् भने महिलाले पनि केही अंश काट्ने गर्छन् ।
हाजीहरुले तवाफ गरिसकेर एक दिन मिना र एक दिन मुजदल्फह बसेर जुलहिज्जाको ९ तारिख दिन मक्काभन्दा परको ठूलो मैदानमा दिन बिताउने गर्छन् । खुला आकाशमुनि यहाँ बसेर क्षमायाचना गर्ने गरिन्छ ।
हजयात्रीहरु गत जुन २९ देखि नेपाल फर्कन सुरु गरेका हुन् । पाँच वटा फलाइटबाट जुलाई ३ तारिखसम्ममा सबै यात्री नेपाल आइपुगेको हज कमिटीका अध्यक्ष मियाँले बताए । गत जेठको पहिलो साता विभिन्न पाँच वटा फ्लाइटबाट हज यात्री साउदी अरब पुगेका थिए ।