काभ्रे । तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् ।
कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीयस्तरमा ‘कृषक पाठशाला’ सञ्चालन गरिएको थियो । तीन वर्ष अघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म ७५ वटा तालिम भइसकेका लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताए ।
पहिलो वर्ष आधुनिक खेती प्रणालीका लागि दक्षता हासिल गरेका १५ सय कृषक थिए । दोस्रो वर्षमा तीन हजार र तेस्रो वर्ष चार हजार पाँच सय कृषक पुगेका उनले बताए । उक्त संस्थाले वडास्तरमा कृषक पाठशाला सञ्चालन गरी उक्त सङ्ख्यामा आईपीएम प्रविधिमा खेती गर्ने दक्ष कृषक बनाएको हो ।
विशेषगरी आईपीएम प्रविधिअनुसार उत्पादित तरकारी अर्गानिक हुने प्रमुख ज्ञवालीले बताए । उनका अनुसार बालीमा शत्रुलाई मार्ने र मित्र जीवलाई बचाउने लगायत जैविक विषादी निर्माण, प्रयोग विधि, उत्पादित तरकारी लगायत खाद्यान्न अर्गानिक हुने गर्छ । संस्थाले हालै मात्र पाँचखाल–६ धोत्रामा सञ्चालित २३ हप्ते आईपीएम तालिम समापन गरेको छ ।
आईपीएम प्रविधि, कृषि विज्ञको सल्लाह तथा सुझावका आधारमा जैविक एवं आधुनिक तरिका अपनाउँदा उत्पादन वृद्धि भई नाफा हुन थालेको स्थानीय कृषक बताउँछन् ।
‘रासायनिक विषादी हाल्दा महङ्गो र स्वास्थ्यलाई असर गर्ने हुन्छ । तालिमपछि स्थानीय स्तरमै उपलब्ध सामग्रीबाट घरमै जैविक मल र विषादी बनाएर प्रयोग गर्दा कम खर्चिलो र उत्पादनबाट केही नाफा बढेको छ,’ धोत्रा कृषक समूहका अध्यक्ष पिताम्बर दनुवारले भने । उनका अनुसार पाँचखालमा तालिमप्राप्त कृषकले आईपीएम प्रविधिबाट खेत गर्दै आएका छन् ।
तीन वर्षअघि आईपीएम तालिम लिनुभएका पाँचखाल–६ का कृषक केदार ढुंगानाले स्थानीय तितेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको बताए ।
‘तालिम लिएपछि रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न प्राङ्गारिक खेती गर्न थालेका हौँ,’ उनले भने । कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा हुने भएकाले कृषकले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान र सीप पाठशालाबाट पाइएको ढुंगानाको भनाइ छ ।
आईपीएम प्रविधिको खेतीले पाँचखालमा उत्पादित विषादीरहित तरकारी उत्पादन हुँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर नगर्ने बताइएको छ । वडा नं ६ का वडाध्यक्ष रामशरण दुलालले विगतका वर्ष खेतीमा आधुनिकीकरण थाहा नपाएका कृषकलाई आईपीएम प्रविधि निकै प्रभावकारी रहेको बताए ।
‘यहाँका कृषक पूर्णरुपमा अर्गानिक तरकारी उत्पादनमा जोड दिइरहनुभएको छ, यसका वडाको तर्फबाट सहयोग भइरहेको छ,’ उनले भने । पाँचखालमा उत्पादित तरकारी परीक्षण गरी बिक्री स्थलको व्यवस्थापनतर्फ लाग्ने दुलालको भनाइ छ ।
संस्थाले पाँचखाल नगरलाई ‘विषादीरहित तरकारी उत्पादन हव’को रुपमा परिचित गराउने कार्यमा निरन्तर लागेको जनाएको छ । आईपीएम प्रविधि जानेका कृषकले नजानेका कृषकलाई सिकाउने अभियान थालिने ज्ञवालीले बताए । उनका अनुसार खेतीमा कुनै समस्या आएमा तत्काल खेतबारीमा पुग्ने प्राविधिककोसमेत व्यवस्था गरिएको छ ।
संस्थाले करिब तीन वर्षको अवधिमा माध्यमिकस्तरका पाँच हजार दुई विद्यार्थीलाई विद्यालयमा रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय, दिगो कृषिको अवधारणालगायत विषयमा कक्षा सञ्चालन गरेको थियो ।
यसैबीच पाँचखालका कृषकलाई प्रयोगशाला केन्द्र (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याव)मा उत्पादित तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि नगरपालिकाले सबैमा अपील गर्दै आएको छ । केन्द्रमा करिब चार वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमुना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ ।