• Menu

बाढीपहिरोमा परी ५ जनाको मृत्यु, सात बेपत्ता, काठमाडौँका नदी क्षेत्रमा प्रहरी गस्ती

नेपाल प्रफिट

२०८१ असार २२, शनिबार २१:१२

बाढीपहिरोमा परी ५ जनाको मृत्यु, सात बेपत्ता, काठमाडौँका नदी क्षेत्रमा प्रहरी गस्ती
दाङको घोराही उपमहानगरपालिका-५ बसन्तापुरको बस्तीमा पसेको बबई नदीको बाढी । तस्बिर : रञ्जिता अधिकारी/रासस

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।

‘यहाँका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई मध्यनजर गरेर अहिले पनि पेट्रोलिङ टोली खटिएको छ । सावधानी अपनाउन आग्रह गदछौँ,’ उनले भने ।

काठमाडौँ उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताए ।

बाढीपहिरोमा परी पाँचको मृत्यु, सात बेपत्ता

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरामा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए ।

‘पहिरोमा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुई जना गरी पाँच जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता र १४ घाइते भएका छन्,’ उनले भने ।

बाढीपहिरोका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एक जना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुंगामा दुई जना रहेका सहसचिव भुसालले बताए ।