• Menu

विद्यार्थी दुई, शिक्षक पनि दुई

नेपाल प्रफिट

२०८१ असार २१, शुक्रबार १०:४४

विद्यार्थी दुई, शिक्षक पनि दुई

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा तीन वर्षयता विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुई जना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एक जना कक्षा १ र एक जना कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।

स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेको प्रधानाध्यापक गोविन्द अधिकारीले बताए । २०८० सालमा तीन जना हुँदै नयाँ शैक्षिक सत्रमा दुई जनामा सीमित भएको छ ।

उनका अनुसार २०४६ सालमा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । २०७९ सालमा त्यो सङ्ख्या १० जनामा झर्‍यो ।

विद्यालयमा एक जना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ ।

पैँतीस वर्षअघि स्थापित विद्यालयमा दशकअघि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर, अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।

धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा छ । त्यसकारण स्थानीयले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रधानाध्यापक अधिकारी बताउँछन् ।

गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घरनजिकै लिन आउने गरेका पनि धेरै विद्यार्थी त्यता जान थालेको उनले बताए । ‘विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न सकेको छैन, हामीमा पनि नैराश्य छाएको छ । गाउँमा बालबालिका पनि कम छन् । भएका पनि सहरबजार जाने प्रचलन बढेको छ,’ उनले भने, ‘हामी त जागिर खानका लागि यहाँ आइयो, विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।’

खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन र रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापनमा गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताए ।

नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति लिएको उनले जानकारी दिए । ‘नगरपालिकाले नगर शिक्षा ऐन बनाएको र त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको छ, विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ,’ उनले भने, ‘विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ ।’

जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गरिने जानकारी दिए । नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने र कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उनले बताए ।