काठमाडौं । नेपालबाट २६ देशमा गहुँको पिठोबाट बनेको पास्ता निर्यात हुने गरेको पाइएको छ । नजिकका छिमेकी देश चीन र भारतदेखि युरोप र अमेरिकासम्मका बजारमा नेपाली पास्ता पुग्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
गहुँको पिठोमा कुखुराको अण्डा राखेर बनाएको, अण्डा नराखेको तथा खान तयारी अवस्थामा रहेको गरी विभिन्न प्रकारका पास्ता विदेश निर्यात हुने गरेको छ । पास्ता निर्यात भने घटेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १ अर्ब ८२ करोड ४५ लाख रुपैयाँबराबरको पास्ता निर्यात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब ३० करोड कम हो । गत आवको पहिलो ११ महिनामा २ अर्ब ११ करोड ३४ लाख रुपैयाँबराबरको पास्ता निकासी भएको थियो ।
नेपालबाट पास्ता निकासी हुने देश
अस्ट्रेलिया, बेलायत, अमेरिका, भुटान, यूएई, बहराइन, बेल्जियम, क्यानडा, चीन, फिनल्यान्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटाली, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, माल्टा, न्युजिल्यान्ड, कतार, सिंगापुर, नर्वे, पपुवा न्यु गिनी र सेसेल्स ।