• Menu

जंगली विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

नेपाल प्रफिट

२०८१ असार २०, १२:५९


मकवानपुर । जंगली विषालु च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मंगली स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षीया पासाङमाया स्याङ्तान, नाति ७ वर्षीय लासाङ स्याङ्तान, बुद्ध स्याङ्तानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया छोरी आरती स्याङ्तान सिकिस्त बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ ।

बिरामीमध्ये मंगली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ । यसअघि असारको पहिलो साता जंगली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीन जनाको मृत्यु भएको थियो ।