• Menu

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

नेपाल प्रफिट

२०८१ असार २०, ११:४१

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट संघीय सरकारमा सहभागी मन्त्रीहरुले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री दाहाललाई राजीनामा पत्र बुझाउन पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफलपछि उनलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ । उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजीनामा स्थगन गरेका हौँ,’ उनले भने ।

आफूहरुले चाँडोभन्दा चाँडो संसदको फेस गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको उनले बताए । रास्वपाबाट वर्तमान सरकारमा पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन् ।