• Menu

जेठसम्ममा २ खर्ब १७ अर्ब लगानी प्रतिबद्धता, प्रस्तावित रोजगारी २६ हजार

नेपाल प्रफिट

२०८१ असार १९, बुधबार १३:४४

जेठसम्ममा २ खर्ब १७ अर्ब लगानी प्रतिबद्धता, प्रस्तावित रोजगारी २६ हजार

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठसम्ममा स्वदेशी र विदेशी गरी ३८३ उद्योगका लागि २ खर्ब १७ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।

ती उद्योगमा २६ हजार २७ जनाका लागि रोजगारी प्रस्ताव भएको छ । प्रस्तावित विदेशी लगानी परियोजनाहरुमा मात्रै १७ हजार ६४२ जनाका लागि रोजगरी प्रस्ताव भएको छ ।

विदेशी लगानी ११ महिनामै लक्ष्यभन्दा बढी आएको छ । चालु आवमा ३८ अर्ब विदेशी लगानीको लक्ष्य लिइएकोमा जेठसम्ममा नै ४४ अर्ब ३४ अर्ब प्रस्ताव आएको छ ।

ठूला उद्योग भने लक्ष्यभन्दा निकै कम प्रस्ताव भएका छन् । चालु आवमा ८० ठुला उद्योग दर्ता हुने लक्ष्य लिएकोमा अहिलेसम्म ४९ मात्र भएका छन् । त्यस्तै ८५ मझौला उद्योगको लक्ष्य लिइएकोमा ११ महिनामा ५० वटाले प्रस्ताव गरेका छन् ।

साना उद्योग भने लक्ष्यभन्दा निकै धेरै प्रस्ताव भएका छन् । चालु आवमा २ सयवटा प्रस्ताव आउने लक्ष्य लिइएकोमा अहिलेसम्ममा २८४ वटा प्रस्ताव भइसकेको उद्योग विभागले जनाएको छ ।