काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । कांग्रेसको बुधबार बसेको कार्य सम्पादन समितिको बैठकले सोमबार (असार १७) मध्यरातिको समझदारीलाई अनुमोदन गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने निर्णय भएको जानकारी दिए । ‘दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सभापतिज्यूले सरकारको नेतृत्व गर्नुहुनेछ,’ उनले भने ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ । एमाले र कांग्रेसबीच भएको नयाँ समझदारीमा देउवा र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ ।