• Menu

दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीद्वारा स्थलगत अध्ययन सुरु

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १५:३८

दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीद्वारा स्थलगत अध्ययन सुरु

कञ्चनपुर । कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुंगे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा-चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए ।

‘हामी पनि पुलस्थलमा आउदैछौँ,’ जोशीले भने, ‘अध्ययन टोलीले विस्तृतमा अनुगमन गर्दै जान्छ ।’ भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब ६ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली पनि भत्किएको पुल अनुगमनका लागि दोधारा-चाँदनी पुग्दैछ । मुख्यमन्त्री भट्टसँगै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीसमेत रहेको छ ।

त्यसैगरी, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली पठाइएको जानकारी दिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले पुलको एउटा पिल्लर बाढीले भत्काएको भन्दै सुरक्षाका कारण पुल वरपर नजान नागरिकहरूसित आग्रह गरेका छन् ।

त्यसैगरी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई यथाशीघ्र पुल निर्माणका लागि आग्रह गरेका छन् ।

‘२०५६ सालमा यहाँबाट निर्वाचित भएपछि मैले पहिलो पटक महाकाली नदीमा झोलुंगे पुल बनाई दोधारा-चाँदनी जोड्नुपर्छभन्दा कतिपय साथीहरू असम्भव कुरो भनेर मसित ठट्टा गर्थे,’ लेखकले भने, ‘तर सोही अवधिमा पुल निर्माण प्रारम्भ भएर सरकारकै बजेट र नेपालकै प्राविधिकबाट ऐतिहासिक लामो पुल बनेको थियो ।’

सम्बन्धित समाचार