• Menu

६० किलो सुन तस्करी प्रकरणमा थप २० जना पक्राउ, १ खर्ब ६६ अर्ब बिगो दाबी गर्दै सीआईबीले बुझायो प्रतिवेदन

नेपाल प्रफिट

२०८१ असार १७, १४:३४

६० किलो सुन तस्करी प्रकरणमा थप २० जना पक्राउ, १ खर्ब ६६ अर्ब बिगो दाबी गर्दै सीआईबीले बुझायो प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार प्राप्त भएको प्रतिवेदन अध्ययन गरिरहेको छ । जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गर्ने तयारी छ ।

दोस्रो चरणको अनुसन्धानबाट सीआईबीले २० जनालाई पक्राउ गरेको छ । सीआईबीले पक्राउ परेकाहरूबाट १ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरेको छ ।

पक्राउ परेकाहरूलाई सीआईबीले अहिले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार २६ जना अझै फरार छन् । सीआईबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको हो ।

ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको प्रहरीको निष्कर्ष छ । थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ किलो सुन तस्करी भएको पाइएको हो ।

३२ क्विन्टलमध्ये ३६२.७७८ किलो ब्रेक सुमा लुकाएर र २ हजार ८३१.८९ किलो सुन पानी तान्ने मोटरलगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी भएको हो ।

तस्करीको सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँबराबर भएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । २०८० साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो ।