• Menu

व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

नेपाल प्रफिट

२०८१ असार १७, १०:४०


चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो ।

निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । सुरुमा आयोगले दुई करोड उपलब्ध गराउनेछ भने क्रमशः बजेट थप गर्दै लगिनेछ ।

यसका लागि स्नातक वा सोभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्नेछ ।  सो समूहलाई प्रस्तावका आधारमा २० देखि ४० लाख रकम तीन वर्षका लागि बिना ब्याजमा उपलब्ध गराइनेछ ।

निर्देशनालयले साउन अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । सुरुमा चार–पाँच वटा प्रस्ताव मागेर कार्यक्रम अघि बढाउने तयारी गरिएको छ । समूह छनोट भएसँगै उनीहरुलाई तालिम दिएर काम अघि बढाइनेछ । समूहहरुले रकम फिर्ता गर्न थालेपछि सो रकम र अरु थप रकम गरी समूहको सङ्ख्या थपिँदै लगिनेछ ।

कृषि, पशु, भेटेरिनरी, माछालगायतको उत्पादन र बजारीकरणसम्बन्धी प्रस्ताव आह्वान गरिनेछ । बीउ उत्पादन, बिरुवा उत्पादन, कीरा मार्न उत्पादन हुने कीरा, हाइटेक नर्सरीजस्ता परियोजनामा लगानी गरिँदै छ ।

विश्वविद्यालय स्थापना हुँदै गर्दा पठनपाठनसँगै अनुसन्धान र प्रसारको कामसमेत गर्ने उल्लेख भएकाले सोहीअनुरुप यो कार्यक्रम अघि बढाइएको कट्टेलले जानकारी दिए ।

विद्यार्थीलाई व्यावसायिक रुपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ । १५ वर्षअघि स्थापना भएको यस विश्वविद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।