• Menu

एनसेलको अगुवाइमा ‘एक युवा, एक बिरुवा’ अभियान सुरु, ७७ सय बिरुवा रोप्ने तयारी

नेपाल प्रफिट

२०८१ असार १६, आइतबार ११:५७

एनसेलको अगुवाइमा ‘एक युवा, एक बिरुवा’ अभियान सुरु, ७७ सय बिरुवा रोप्ने तयारी

नुवाकोट । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वातावरण संरक्षण गर्ने उद्देश्यले एक युवा, एक बिरुवा अर्थात् वान युथ वन प्लान्ट अभियानको औपचारिक सुरुवात भएको छ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले शुक्रबार नुवाकोटको विदुर नगरपालिकामा बिरुवा रोपेर अभियानको उद्घाटन गरेकी हुन् ।

अभियान नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको संयुक्त आयोजनामा अघि बढेको छ । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्ने विषयमा समझदारी गरेका थिए ।

‘ऊर्जाशील युवाबाट राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको छ,’ उपसभामुख मगरले भनिन्, ‘अभियानमा सहभागी हुने युवा सकारात्मक परिवर्तनका लागि शक्तिको प्रमाण हुन्, आज बिरुवा रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण प्रस्तुत गरेका छौं ।’

अभियान असार २१ सम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै ७ हजार ७ सय बिरुवा रोप्ने छन् ।’

अभियानका लागि एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रमअन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको जनाएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले बताइन् ।

‘यसले युवाको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउने हाम्रो विश्वास छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्