झापा । पर्यावरण जोगाउँदै मानव-हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका-३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएको वन समितिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपेका छन् ।
झापाको उत्तरी भेगमा जंगली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने रैथाने जंगली हात्तीले यही जंगललाई बासस्थान बनाउने गरेका छन् ।
हात्तीबाहेक बाँदरबाट पनि जंगलनजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीको विश्वास छ ।
जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उनले बताए । हाल जंगलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।
दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव-हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जंगलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए ।
‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जंगलमै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव-हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ,’ उनले भने ।
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार ५५८ उपभोक्ता छन् । जंगलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा संकलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।
कार्यालय प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ-आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बाँसलगायत बिरुवा रोप्ने गरेको जानकारी दिए । उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने वन कार्यालयको पनि नीति रहेको उनले बताए ।