काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी सामग्री उपलब्ध गराएको छ। ‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत ती राहत सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो।
हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले भान्सामा आवश्यक पर्ने सामग्रीसहितको राहत सेट उपलब्ध गराइएको शाओमी नेपालले जनाएको छ।
प्रत्येक राहत सेटमा एक थान प्रेसर कुकर, १ थान कराइ, ५ थान प्लेट, ५ थान चम्चा, ६ थान कप, ५ थान कचौरा र १ थान थर्मस बोतल समावेश गरिएको छ। यसअनुसार २०० परिवारका लागि खाना पकाउन तथा खानपिन गर्न आवश्यक आधारभूत घरायसी सामग्री उपलब्ध गराइएको हो।
कम्पनीका अनुसार कुल २०० सेट राहत सामग्रीमा २०० थान प्रेसर कुकर, २०० थान कराइ, एक हजार थान प्लेट, एक हजार थान चम्चा, एक हजार २०० थान कप, एक हजार थान कचौरा र २०० थान थर्मस बोतल रहेका छन्।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरो प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किन केही राहत र सहजता प्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो।
पछिल्लो राहत सामग्री वितरणसँगै बाढीपहिरो प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग पुर्याउने आफ्नो प्रयासलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।