मोरङ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजारबराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित नगरसभाको १४औँ अधिवेशनमा नगर उपप्रमुख शिल्पानिराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा आयतर्फ वित्तीय समानीकरण अनुदानमा संघीय सरकारबाट ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट दुई करोड ४९ लाख २९ हजारको अनुमान गरिएको छ । साथै राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १२६ र अन्तःशुल्कबाट पाँच करोड ८५ लाख ४१ हजार २७९ आय हुने अनुमान गरिएको छ ।
व्ययतर्फ सञ्चालन तथा प्रशासनिक खर्च ५९ करोड, ऋणको साँवाब्याज भुक्तानी पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी तीन करोड ३४ लाख ८३ हजार समपूरक कार्यक्रम ६ करोड १० लाख र वडास्तरीय योजनातर्फ ४३ करोड तीन लाख १२ हजार खर्च हुने अनुमान छ ।
बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाका भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कायक्रमतर्फ पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मतसम्भारतर्फका लागि चार करोड ५० लाख र मर्मतसम्भारका लागि १० करोड तथा भारी सवारीसाधन खरिदका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।
महानगरले सन् २०३० सम्ममा बालविवाहमुक्त महानगरपालिका घोषणा, लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालाई सबै वडामा सेवा विस्तार, नगरका व्यस्त सडकमा ट्राफिक लाइट जडान, पत्रकारहरुका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।