• Menu

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधारमा ६१ प्रतिशत

नेपाल प्रफिट

२०८१ असार १०, २१:२३

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधारमा ६१ प्रतिशत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुनिता डंगोलले आज (सोमबार) भएको १५औँ नगरसभाको बैठकमा आगामी आवका लागि वार्षिक बजेट पेस गरेकी हुन् ।

महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ, जुन कुल बजेटको ६१.२० प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख र स्थानीय सञ्चित कोषबाट खर्च हुने गरी रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड नौ लाख प्रस्ताव गरिएको छ ।

महानगर गौरव र स्वर्णिम योजनाका लागि पाँच अर्ब ८० करोड बजेट गरिएको छ । उपप्रमुख डंगोलले विगतका कार्यक्रमलाई निरन्तरता तथा थप एउटा गरी ११ वटा गौरवको आयोजनाका लागि तीन अर्ब ८० कारेड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

त्यस्तै कपडा बैंक, पोखरी मर्मत तथा सम्भार, फोहोरबाट मल र महानगर होमस्टेलाई थप गरी ३० वटा स्वर्णिम योजना प्रस्ताव गरिएको छ । त्यसका लागि दुई अर्ब बजेट प्रस्ताव गरिएको छ ।