• Menu

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र, स्थानीय खुसी

नेपाल प्रफिट

२०८१ असार १०, ०९:४७

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र, स्थानीय खुसी

झापा । झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ ।

पहिलो चरणमा अर्जुनधारा-६ महानन्द चोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।

‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ,’ उनले भने, ‘मौसमले साथ दियो भने तीन-चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए ।

सडक निर्माणमा ढिलाइ भएपछि तीन महिनादेखि स्थानीयले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् ।

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र सुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । ‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो,’ उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।’

विर्तामोड नगरपालिका वडा नम्बर २ कि अम्बिका खतिवडाले सडक कालोपत्र हुन थाल्दा खुसी लागेको बताइन् । ‘हिउँदमा धुलो र बर्खामा हिलोले हैरान बनाएको थियो,’ उनले भनिन्, ‘कालोपत्र सुरु हुँदा निकै खुसी लागेको छ । अब बर्खामा पनि यात्रा गर्न निकै सहज हुन्छ ।’

सडक कालोपत्रका लागि २५ करोडको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिएको भए पनि निर्माण कम्पनीले १५ करोड ५० लाखमा ठेक्का लिएको छ ।