• Menu

केही निश्चित व्यक्तिको बदमासीका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम : श्रममन्त्री अर्याल

नेपाल प्रफिट

२०८१ असार ९, १७:०२

केही निश्चित व्यक्तिको बदमासीका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आइतबार आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा उनले सहकारीले रोजगारी सिर्जना गर्नेदेखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुर्‍याएको बताएका हुन् ।

मन्त्री अर्यालले सहकारीले गाउँ-गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । ‘सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ । उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ,’ उनले भने ।

सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको छ । तर, केही निश्चित व्यक्तिको बदमासीका कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको उनले बताए । ‘तिनै बदमासले सहकारी संघसंस्थाका व्यक्तिलाई उचाल्ने, सहकारी क्षेत्रमा हुलहुज्जत गर्ने र सहकारीको बदनाम गराउँदैछन्,’ उनले भने ।

तर, सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको सहयोगलाई बिर्सन नहुने मन्त्री अर्यालले बताए । सहकारीको योगदानको विषयमा ठूलो बहस नै चलाउनुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय सहकारी महासंघले गत शुक्रबारदेखि सहकारी रोजगार मेला आयोजना गरेको हो । संघको परिसरमा नै मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न स्टल तथा छलफल पनि गरिएको थियो ।