काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले विशेष अदालतमा पेस गरेको आरोप पत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको जनाइएको छ । आरोप पत्र दर्ता हुनासाथ मुख्यसचिव स्वतः निलम्बनमा पर्नेछन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका लागि बजेट विनियोजन गरेको आरोप अर्यालमाथि छ । सुरक्षण मुद्रण केन्द्रले सञ्चार मन्त्रालयको वार्षिक बजेटभन्दा बढी स्रोत सुनिश्चितता पाएको थियो ।
त्यसपछि अन्त:शुल्क स्टिकर छाप्न भन्दै केन्द्रले प्रिन्टर आयात अघि बढाएको थियो । तर, केन्द्रले पछि आफूले नगरी तेस्रो पक्षलाई आयात गर्न ठेक्का दिएको विषयमा अख्तियारले प्रश्न उठाएको हो ।