गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए ।
थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जंगलस्थित पुल पनि बगाएको जनाइएको छ । ‘बाढी पहिरोले हामीलाई जोखिममा पार्यो,’ उनले भने, ‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्यो । कतै जान पनि नमिल्ने भयो ।’
साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत आयोजनामा क्षति पुर्याएको उनले बताए । उनले भने, ‘एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत थियो त्यो पनि लग्यो । अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत थियो त्यो पनि नामेट पारेर लग्यो । आवातजावत र विद्युत ठप्प हुँदा जनजीवन समस्यामा परेको छ ।’
विद्युत नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा ठप्प भएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौँ पर्यटक बूढीगण्डकीको पुल नहुँदा समस्यामा परेका छन् । पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,’ वडाअध्यक्ष पेमाग्याल्बो लामाले भने, ‘नत्र सबैलाई बढारेर लैजान्थ्यो ।’
बाढीपीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने लामाले बताए । ‘घरको केही पनि जोगिएन त्यसैले तत्काल आज नै खाद्यान्न र लुगा कपडाका लागि २० हजारका दरले राहत दिन्छौँ,’ उनले भने, ‘केही दिनमा गाउँपालिकाका तर्फबाट एक लाख बराबरको राहत दिनेछौँ ।’ अन्यत्रबाट आउने राहतका लागि पनि पहल गर्ने उनले बताए ।