सर्लाही । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ।
सर्लाहीको बागमती नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो मासिक पारिश्रमिकबाट संकलन गरेको दुई लाख ४७ हजार ६४० कोषमा जम्मा गरेका छन्। बाढीबाट सर्वस्व गुमाएका परिवारको राहतका लागि उक्त रकम दाखिला गरिएको जनता माध्यमिक विद्यालय, बागमती-५, सोल्टी बजारका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।
त्यसैगरी, बागमती नगरपालिकाका विभिन्न विद्यालयका छात्रछात्राले खाजा खर्च कटाएर कोषमा सहयोग गरेका छन्। जनबालकल्याण माध्यमिक विद्यालयका छात्रछात्राले १८ हजार ४५०, नव जनजागरण माध्यमिक विद्यालय, बागमती-८ का छात्रछात्राले ११ हजार ७५० तथा महेन्द्र जनता माध्यमिक विद्यालय, बागमतीऔ११ का छात्रछात्राले पाँच हजार २६० संकलन गरी कोषमा दाखिला गरेका छन्।
पर्साको वीरगन्ज महानगरपालिकाले कोषमा एक करोड ११ लाख जम्मा गरेको छ। जिल्लाका अन्य स्थानीय तहबाट पनि उल्लेख्य रकम सहयोग गरिएको छ। पर्सागढी नगरपालिकाले तीन लाख तथा नगरप्रमुखले व्यक्तिगत रूपमा १० हजार, उपप्रमुखले सात हजार र वडाध्यक्षहरूले जनही पाँच हजार सहयोग गरेका छन्।
यसैगरी, सखुवा प्रसौनी गाउँपालिकाले पाँच लाख, पटेर्वा सुगौली गाउँपालिकाले पाँच लाख, जगन्नाथपुर गाउँपालिकाले १५ लाख, ठोरी गाउँपालिकाले ११ लाख, धोबिनी गाउँपालिकाले पाँच लाख र मैनपुर गाउँपालिकाले पाँच लाख कोषमा जम्मा गरेका छन्।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समितिले एक लाख ७० हजार ६९८ सहयोग गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम कोषमा दाखिला गरिएको जिल्ला सभापति इन्जिनियर मिनीमाधव खनालले जानकारी दिए ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले पनि रु पाँच लाख पाँच हजार कोषमा जम्मा गरेको छ। कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम संघीय सांसद राजन गौतममार्फत कोषमा दाखिला गरिएको कलेजका प्रिन्सिपल प्राध्यापक डा. इन्जिनियर हरि भण्डारीले जानकारी दिए ।
धनुषाबाट पनि ६६ लाख कोषमा जम्मा गरिएको छ। हंसपुर नगरपालिकाले ३६ लाख र मिथिला बिहारी नगरपालिकाले ३० लाख सहयोग गरेका हुन्। उक्त रकम स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक पारिश्रमिकबाट संकलन गरिएको जनाइएको छ।
यसैगरी, नेपाल प्रेस युनियन मकवानपुर शाखाले भोटेकोशी बाढीपीडितका लागि ५० हजार सहयोग गरेको छ। उक्त रकम मकवानपुरका पत्रकारहरूबाट संकलन गरिएको शाखाका अध्यक्ष सुवास विडारीले जानकारी दिए ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न स्थानीय तह, शैक्षिक संस्था, राजनीतिक दल, कर्मचारी, शिक्षक, विद्यार्थी तथा नागरिकबाट सहयोग रकम जुट्नेक्रम जारी रहेको छ।