
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले विकासशील देशहरूलाई कमजोर आर्थिक वृद्धिको अवस्थाबाट बाहिर निकाल्ने ऐतिहासिक अवसर प्रदान गर्न सक्ने विश्व बैंकले जनाएको छ । तर, यसको लाभ लिन ऊर्जा, इन्टरनेट, सीप तथा संस्थागत क्षमता विस्तारमा तत्काल लगानी आवश्यक रहेको विश्व बैंकको विश्व विकास प्रतिवेदन २०२६ ले औंल्याएको छ ।
मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार विकासशील देशहरूमा हाल रहेका करिब ४.५ प्रतिशत रोजगारीमात्र जेनेरेटिभ एआईका कारण प्रतिस्थापनको जोखिममा छन् । तर, १६.२ प्रतिशत रोजगारीको उत्पादकत्व एआईमार्फत उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना छ । उच्च आय भएका मुलुकमा भने १४.२ प्रतिशत रोजगारी प्रतिस्थापनको जोखिममा रहेको प्रतिवेदनले देखाएको छ ।
विश्व बैंकका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख अर्थशास्त्री इन्दर्मित गिलले विकासशील मुलुकका लागि एआई एउटा ‘लाइफ लाइन’ सावित हुन सक्ने बताएका छन् । उनका अनुसार महँगा डेटा सेन्टर वा ठूला एआई मोडल आवश्यक नपरी स्थानीय आवश्यकताअनुसार साना र कम लागतका एआई उपकरण प्रयोग गरेर स्वास्थ्य, शिक्षा, न्याय सेवा र कृषिमा ठूलो सुधार ल्याउन सकिन्छ ।
प्रतिवेदनले एआईले चिकित्सकलाई रोग पहिचान गर्न, किसानलाई बाली व्यवस्थापनमा सहयोग गर्न, व्यवसायको उत्पादकत्व बढाउन तथा सरकारलाई कर संकलन, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, स्वास्थ्य र शिक्षाजस्ता सार्वजनिक सेवा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरेको छ ।
यद्यपि आवश्यक पूर्वाधार, इन्टरनेट पहुँच, स्थानीय डेटा, दक्ष जनशक्ति र प्रभावकारी संस्थागत व्यवस्था निर्माण नगरे एआईले देशहरूबीचको असमानता अझ बढाउन सक्ने चेतावनी पनि प्रतिवेदनले दिएको छ ।
प्रतिवेदनले विकासशील देशहरूका लागि ‘आत्मसात् गर्ने’, ‘स्थानीयकरण गर्ने’ र ‘क्रमशः उन्नत एआई विकासतर्फ अघि बढ्ने’ तीन चरणको रणनीति अघि सारेको छ । साथै एआईप्रति जनविश्वास कायम राख्न जिम्मेवार प्रयोग, डेटा गोपनीयताको सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा प्रतिवेदनले जोड दिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal