
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रममार्फत देशभर लाखौं नागरिक लाभान्वित भएको जनाएको छ ।
बैंकले विगत १९ वर्षदेखि आधुनिक बैंकिङ सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको जनाएको छ। गत आर्थिक वर्षमा मात्रै विभिन्न सामाजिक कार्यक्रममार्फत ठूलो संख्यामा सर्वसाधारण लाभान्वित भएका बैंकले जनाएको छ ।
वित्तीय समावेशीकरण र वित्तीय साक्षरता प्रवर्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशका आफ्ना १९८ शाखामार्फत सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य लक्षित समूह सहभागी भएका थिए। कार्यक्रममा बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा समग्र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा बैंकले बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । शिविरमार्फत करिब ८०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको र मोतियाबिन्दु पहिचान भएका करिब १५० बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी, म्याग्दीस्थित भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको छ। उक्त स्वास्थ्य चौकीबाट वडा नं. १ र २ का चार हजार ३०० भन्दा बढी स्थानीयले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।
वातावरण संरक्षणअन्तर्गत ‘एक खाता, एक रुख’ अभियानमार्फत विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० बिरुवा रोपिएको थियो। साथै कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वृक्षरोपण कार्यक्रम सञ्चालन गरी देशभर एक हजार ५०० बिरुवा रोपिएको बैंकले जनाएको छ ।
शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित श्री छत्रपाल आधारभूत विद्यालयका २०५ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको जनाएको छ। साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेल कागज, ई-ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा सफ्टवेयरसहितका शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।
बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको दिगो विकासमा केन्द्रित सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal