• Menu

नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन पाउने व्यवस्था मिलाइँदै, हुलाकबाट घरघरै पुर्‍याइने

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १७:०५

नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन पाउने व्यवस्था मिलाइँदै, हुलाकबाट घरघरै पुर्‍याइने

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा चाँडै पूर्ववत् सहज हुने जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।

उनका अनुसार नयाँ राहदानी प्रणाली लागू भएपछि गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत प्रत्यक्ष (लाइभ) आवेदन लिने र राहदानी जारी गर्ने प्रक्रिया सुरु गरिएको छ। हालसम्म यस प्रणालीबाट ८ हजार २६० वटा राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ ।

हाल राहदानी सेवा राहदानी विभाग, देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, ६ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोगबाट सञ्चालन भइरहेको छ। साथै, विदेशस्थित थप ८ नेपाली नियोगबाट जुनसुकै समयमा अनलाइनमार्फत राहदानी आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

प्रवक्ता पौडेलले नयाँ प्रणाली स्थिर हुने क्रममा केही प्राविधिक समस्या देखिनु स्वाभाविक भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर काम गरिरहेको जानकारी दिए ।

मन्त्रालयका अनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा छिटो पुर्‍याउन हुलाक विभागसँग सहकार्यको सम्झौता भइसकेको छ। साथै, नागरिकले आफू बसेको स्थानअनुसार जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था लागू गर्न आवश्यक प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ ।