• Menu

नियन्त्रण गुमाएर पुलमा ठोक्कियो यात्रुवाहक बस, १५ जना घाइते

नेपाल प्रफिट

२०८३ साउन ५, १८:०२

नियन्त्रण गुमाएर पुलमा ठोक्कियो यात्रुवाहक बस, १५ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा प्रहरी प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारका लागि रत्नहरि अस्पताल पठाइएको छ । चालकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनका अनुसार बसमा २५ जना यात्रु सवार रहेका थिए ।

घाइते हुनेमा व्यास-४ निवासी ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल-१ निवासी ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल-४ निवासी ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास-११ थुम्की निवासी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास-२ निवासी ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्की रुपा गाउँपालिका-१ निवासी ५० वर्षीया स्वस्तिकला खनाल, व्यास-६ निवासी २७ वर्षीया सुजिता पौडेल, व्यास-१ निवासी ८ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेको प्रहरीले जनाएको छ ।