
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको अर्थसमितिले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताए ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा यसले धेरै राम्रा पक्षहरु समेटेको थियो । त्यो ऐनले गभर्नरको नियुक्तिलाई पनि स्थायी स्वरुपको बनाएको छ,’
उनले भने, ‘राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी जस्तै कहिले एउटा कार्यालय, कहिले अर्को कार्यालयमा सरुवा वा निकाल्ने काम गर्नुहुँदैन । राष्ट्र बैंक भनेको एउटा स्वायत्त र स्वतन्त्र निकाय जस्तै हो । राजनीति गरियो भने त्यहाँ घातक हुने देखिन्छ ।’
अर्थमन्त्री डा. वाग्लेलेले राष्ट्र बैंक ऐनलाई पनि समयसापेक्ष गराउनजरुरी भएर विधेयकलाई व्यवस्थित गर्न खोजेको बताए । ‘राष्ट्र बैंकका संरचना र बोर्डलाई पनि समयानुकुल बनाउन खोजेका छौँ,’उनले भने, ‘गभर्नर र सञ्चालकहरुको नियुक्ति तथा कार्य र कर्तव्यलाई पनि व्यवस्थित गराउन खोजेका छौँ ।’
अर्थमन्त्री डा. वाग्लेले असल नियतले गरिएको कामलाई कारवाही नगरिने खालको विषयवस्तुलाई पनि विधेयकमा समेटिएको बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal