• Menu

साउनभित्र २ लाख १० हजार मेट्रिक टन मल भित्र्याउने सरकारको तयारी

नेपाल प्रफिट

२०८३ असार १७, बुधबार ११:५२

साउनभित्र २ लाख १० हजार मेट्रिक टन मल भित्र्याउने सरकारको तयारी

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले धान खेतीको मुख्य समयमा मल अभाव हुन नदिन आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको जनाएको छ। किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले सरकार-सरकार (जीटुजी) सम्झौता तथा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत मल आयात प्रक्रिया तीव्र बनाएको हो।

मन्त्रालयका अनुसार भारतसँग भएको जीटुजी सम्झौताअन्तर्गत ८० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भए पनि पहिलो चरणमा ५० हजार मेट्रिक टन नेपाल भित्रिनेछ। यसमध्ये ३० हजार मेट्रिक टन युरिया असारको अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

यस्तै, अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मार्फत थप १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल साउनको पहिलो सातादेखि क्रमशः नेपाल भित्रिने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार ओमानबाट पठाइएको ३० हजार मेट्रिक टन युरिया हाल ढुवानी प्रक्रियामा रहेको छ। उक्त मल असारको अन्तिमसम्म कोलकाता बन्दरगाह पुग्ने र त्यसपछि साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज पार गरी भारतको विशाखापट्टनम बन्दरगाह पुगिसकेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार यो मल असार १० देखि २० गतेभित्र नेपाल भित्रिनेछ।

अर्को ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको मन्त्रालयले जनाएको छ। उक्त मल साउनको पहिलो साता कोलकाता बन्दरगाह पुग्ने र साउनको अन्तिमसम्म नेपाल ल्याइने योजना छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्ति प्रभावित भए पनि नेपालमा किसानलाई आवश्यक परिमाणमा मल उपलब्ध गराउन सरकार सक्रिय रहेको मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षभित्र करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।