
काठमाडौं । सवारीसाधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ।
मंगलबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी सवारीसाधनमा प्रयोग भइरहेको कालो सिसा हटाउने विषयमा विस्तृत छलफल गरेको हो ।
छलफलका क्रममा एसएसपी काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कालो सिसा भएका सवारीसाधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग भइरहेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थाअनुसार कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिए ।
उनले सवारीसाधन प्रयोगकर्ताले अगाडिको सिसामा कालो फिल्म वा अन्य कुनै प्रकारका स्टिकर नटाँस्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आयातकर्ता तथा विक्रेताले पनि सवारी खरिदकर्तालाई यसबारे स्पष्ट जानकारी गराउन आग्रह गरे। साथै, विशेष कारणले कालो सिसा प्रयोग गर्नुपर्ने अवस्थामा सरकारबाट आवश्यक अनुमति लिनुपर्ने र उत्पादक कम्पनीबाट नै कालो सिसा जडान भएका सवारीसाधन आयात नगर्न पनि उनले सुझाव दिए ।
नाडाका अध्यक्ष उप्रेतीले हाल सवारीसाधनमा प्रयोग भइरहेका कालो फिल्म हटाउन प्राविधिक रूपमा कुनै जटिलता नरहेको उल्लेख गर्दै पहिलो चरणमा कालो फिल्म हटाउने कार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
त्यसैगरी, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको संख्या धेरै नभएकाले त्यस्ता सवारीको यकिन विवरण संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने बताए।
यस विषयमा थप छलफलका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरिसकेको जनाएको छ।
छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal