काठमाडौं । नेपालमा दिपल, नामी र सेरेस विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक विद्युतीय सवारी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
नवनिर्मित सेवा केन्द्रको उद्घाटन एमएडब्लु समूहकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सकी दक्षिण एसिया क्षेत्रीय बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सेवा प्रबन्धक लि सिनचुंग तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका हुन् ।
कम्पनीका अनुसार नयाँ सेवा केन्द्रले दिपल, नामी र सेरेसका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीले यसलाई आफ्नो ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’को अवधारणालाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।
सेवा केन्द्रमा ९ वटा समर्पित सेवा कक्ष रहेका छन्, जहाँ २४ जना प्रमाणित प्राविधिकले दैनिक ३६ भन्दा बढी विद्युतीय सवारीसाधनको मर्मत तथा सेवा दिन सक्नेछन्। साथै, सवारीको ब्याट्री परीक्षण तथा अवस्थाको मूल्यांकन गर्न अत्याधुनिक ब्याट्री परीक्षण प्रणाली समेत जडान गरिएको छ ।

करिब १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सेवा केन्द्रमा आवश्यक जगेडा पुर्जा भण्डारण, प्राविधिक तालिम कक्ष तथा ग्राहक प्रतिक्षालयको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकाभित्र सवारी उठाउने तथा पुर्याउने सेवा, छिटो सेवा सुविधा, चौबिसै घण्टा आकस्मिक सहयोग सेवा तथा समर्पित सेवा सहायता नम्बरमार्फत सहयोग उपलब्ध गराउने जनाएको छ ।
एमएडब्लु वृद्धिले नयाँ सेवा केन्द्र सञ्चालनसँगै विद्युतीय सवारी प्रयोगकर्तालाई थप सहज, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।