प्रफिट वार्ता
नेपालमा सुनचाँदी व्यवसाय परम्परागत व्यापारमात्र नभई ठूलो आर्थिक गतिविधिको क्षेत्र हो । यस क्षेत्रमा संलग्न व्यवसायी, उपभोक्ता र राज्यको राजस्वसँग प्रत्यक्ष सम्बन्ध रहेको हुँदा अब सुन बजारलाई आधुनिक, पारदर्शी र व्यवस्थित प्रणालीमा लैजान आवश्यक देखिएको छ । यसका लागि नेपालमा ‘गोल्ड बैंक’ स्थापना गर्ने अवधारणा समयसापेक्ष आवश्यकता बनेको छ ।
हाल बजारमा एक तोला सुनको मूल्य करिब ३ लाख रुपैयाँ हाराहारी रहेको अवस्थामा कुनै ग्राहकले सुन बिक्री गर्न आउँदा व्यवसायीले तत्काल सोही बराबरको रकम व्यवस्थापन गर्नुपर्छ । एकैपटक ५ तोला सुन बिक्रीका लागि आएमा करिब १५ लाख रुपैयाँबराबरको पुँजी आवश्यक पर्छ । साना तथा मध्यम व्यवसायीका लागि यस्तो ठूलो रकम तत्काल व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ । त्यसैले व्यवसायीको सहजता र बजारको स्थायित्वका लागि सुन खरिद गर्ने संस्थागत व्यवस्था अर्थात् गोल्ड बैंक आवश्यक छ ।
अहिलेको अवस्थामा धेरै व्यवसायीले बैंकमा सुन धितो राखेर ऋण लिई ग्राहकलाई भुक्तानी गर्नुपर्ने अवस्था छ । गोल्ड बैंक स्थापना भयो भने व्यवसायीले ग्राहकबाट आएको सुन सोही संस्थामार्फत बिक्री गर्न सक्नेछन् । यसले व्यवसायीलाई सहजता प्रदान गर्नुका साथै सुन कारोबारलाई पारदर्शी र सुरक्षित बनाउनेछ ।
जसरी सरकारले पुँजी बजारलाई व्यवस्थित गर्न सेयर बजार सञ्चालन गरेको छ, त्यसैगरी सुन बजारलाई पनि आधुनिक वित्तीय प्रणालीसँग जोड्न सकिन्छ । गोल्ड बैंक वा गोल्ड मार्केटको माध्यमबाट सुनलाई लगानीको एउटा माध्यमका रूपमा विकास गर्न सकिन्छ । यसबाट सरकारलाई राजस्व वृद्धि हुने, व्यवसाय व्यवस्थित हुने र आम नागरिकलाई लगानीको नयाँ अवसर सिर्जना हुने अवस्था रहन्छ ।
नेपालमा सुनचाँदी व्यवसायबाट वार्षिक ठूलो मात्रामा राजस्व संकलन हुने सम्भावना छ । व्यवस्थित प्रणाली लागू गर्न सके यस क्षेत्रबाट करिब २० अर्ब रुपैयाँसम्म राजस्व उठाउन सकिने अनुमान व्यवसायीहरूको छ । यस्तो राजस्व देश विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण र सामाजिक विकासका क्षेत्रमा उपयोग गर्न सकिन्छ ।
नेपालमा अझै पनि धेरै ठाउँमा आधारभूत सुविधाको अभाव छ । दुर्गम क्षेत्र, तराई, पहाड र हिमाली क्षेत्रमा खानेपानी, स्वास्थ्य सेवा, सडक र शिक्षाको क्षेत्रमा थप लगानी आवश्यक छ । व्यवस्थित राजस्व प्रणालीमार्फत प्राप्त स्रोतले यस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।
सुनलाई केवल गहनाको रूपमा सीमित राख्नुभन्दा अब यसलाई आर्थिक सम्पत्तिका रूपमा पनि हेर्नुपर्ने समय आएको छ । सुन खानीबाट प्राप्त हुने कच्चा पदार्थ हो, जसलाई प्रशोधन गर्दा शुद्ध धातुमा परिवर्तन गरिन्छ । विश्वका धेरै देशमा सुनलाई लगानीको माध्यमका रूपमा प्रयोग गरिन्छ । नेपालमा पनि ढिक्का सुन (बार गोल्ड) तथा शुद्ध सुनको कारोबारलाई व्यवस्थित र नियमनसहित विस्तार गर्न सकिन्छ ।
हाल सुनको आपूर्ति प्रणालीमा व्यवसायीले विभिन्न कठिनाइ सामना गरिरहेका छन् । बजारको माग विशेषगरी विवाहको सिजन, मूल्य घटेको समय वा विशेष अवसरमा बढ्ने गर्छ । तर, दैनिक मागअनुसार पर्याप्त सुन उपलब्ध हुन नसक्दा बजार व्यवस्थापनमा समस्या देखिएको छ । त्यसैले हालको कोटा प्रणालीलाई पुनरावलोकन गरी व्यवसायको क्षमता, कारोबारको विवरण र कानुनी मापदण्डका आधारमा व्यवसायीलाई आवश्यक मात्रामा सुन आयात तथा खरिद गर्ने वातावरण बनाउन आवश्यक छ ।
सुनचाँदी व्यवसायमा पारदर्शिता कायम गर्न प्यान भएका, कानुनी रूपमा दर्ता भएका र बिलमार्फत कारोबार गर्ने व्यवसायीलाई प्राथमिकता दिनुपर्छ । यसले अवैध कारोबार नियन्त्रण गर्न सहयोग पुग्छ र बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना हुन्छ ।
गोल्ड बैंक स्थापना गर्दा सरकार, राष्ट्र बैंक र सुनचाँदी व्यवसायीबीच सहकार्य आवश्यक छ । यस्तो बैंकले व्यवसायीको सुन खरिद गर्ने, बिक्री गर्ने र आवश्यक वित्तीय सुविधा उपलब्ध गराउने व्यवस्था गर्न सक्छ । नाफा पनि बजारअनुसार सीमित र व्यावहारिक राख्नुपर्छ, जसले व्यवसायी र उपभोक्ता दुवैलाई सहज वातावरण प्रदान गर्छ ।
आगामी दिनमा सुनलाई सेयर बजारजस्तै व्यवस्थित लगानीको माध्यम बनाउन सकिन्छ । आम नागरिकले पनि गोल्ड मार्केट वा गोल्ड सेयरमार्फत लगानी गर्ने अवसर पाएमा आर्थिक गतिविधि बढ्ने र जनताको क्रयशक्ति विस्तार हुने सम्भावना रहन्छ । साथै, सुन बजारलाई आधुनिक वित्तीय प्रणालीसँग जोड्न सकिन्छ ।
नेपाल जलस्रोत, कृषि, पर्यटन र प्राकृतिक स्रोतमा धनी देश हो । तर, आर्थिक विकासका लागि व्यवस्थित नीति र लगानी आवश्यक छ । सुनचाँदी क्षेत्रबाट प्राप्त हुने राजस्वलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके उद्योग, कलकारखाना, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।
त्यसैले अब नेपालमा सुनचाँदी व्यवसायका समस्या समाधान गर्दै गोल्ड बैंक स्थापना, सुन बजारको आधुनिकीकरण, पारदर्शी कारोबार प्रणाली र व्यवसायीमैत्री नीति निर्माण आवश्यक छ । यसले व्यवसायीलाई मात्र होइन, सरकार, उपभोक्ता र समग्र राष्ट्रको आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउनेछ ।
सुनचाँदी व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन सके ‘नयाँ नेपाल’ निर्माणको आर्थिक यात्रामा यो क्षेत्र महत्वपूर्ण आधार बन्न सक्छ ।
(नरेश शाक्य सुन व्यवसायी हुन् ।)
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal