
काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने जेसीबी उपकरण खरिदलाई सहज बनाउन एम.ए.डब्लु. अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारी भएको छ।
समझदारीपत्रमा एम.ए.डब्लु. अर्थमुभर्सका वित्त तथा स्रोत प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका साना, मझौला तथा खुद्रा बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकमार्फत विशेष किसिमको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने जनाइएको छ ।
आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि एक साताभित्र उपकरण आपूर्तिसम्बन्धी आदेश जारी गरिने व्यवस्था गरिएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम पाँच वर्षसम्मका लागि कर्जा सुविधा लिन सक्नेछन् ।
दुवै संस्थाले यस सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउँदै व्यवसाय विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
एम.ए.डब्लु. अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल र ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनबाट ग्राहकहरूले उपकरण खरिद, सञ्चालन तथा मर्मतसम्भारसम्म एकीकृत र भरपर्दो सेवा पाउने अपेक्षा गरिएको छ ।
दुवै संस्थाले नेपालको निर्माण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा ग्राहकमैत्री सेवाहरू थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal