
तनहुँ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमा परेको छ । गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा अतिक्रमण गरी स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेको अनुमान गरिएको छ ।
त्यस क्षेत्रमा ३७ घरका १०६ जनाका परिवारले स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेका छन् । उक्त जग्गा घरायसी कागजपत्रका भरमा किनबेच भइरहेको जानकारी पाइएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।
उनले गुठीको जग्गा व्यक्तिका नाममा नामसारी वा लालपुर्जा दिन नमिल्ने स्पष्ट कानुनी प्रावधान रहे पनि सो क्षेत्रमा घरायसी कागज बनाएर जग्गा किनबेच गरिँदै आएको पाइएकाले यस्ता जग्गा खरिद-बिक्री नगर्न सूचित गरिएको बताए ।
गाउँपालिकाले गुठीको जग्गा खाली गर्नसमेत स्थानीय बासिन्दालाई आग्रह गरेको छ । कहीँकतै जग्गा नभएका वास्तविक सुकुम्बासीलाई संघीय सरकारले वैकल्पिक जग्गाको व्यवस्थापन गरी कानुनी रूपमै लालपुर्जा दिने तयारी गरिरहेको छ ।
देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको सक्रियतामा देवघाटको वेणी क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १६ वटा अस्थायी टहरा भने पूर्ण रूपमा हटाइसकिएको छ ।
त्रिशूली र कालीगण्डकीको संगमस्थल ‘वेणी’को स्नानघाट संरक्षण र धार्मिक क्षेत्रको सौन्दर्यकरणका लागि क्षेत्र विकास समितिले सातदिने सूचना जारी गरेपछि सो क्षेत्रका अनधिकृत संरचना हटाइएको छ । स्नानघाट संरक्षण पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न संघसंस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले ती टहरा बनाएर उपभोग गर्दै आएका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal