एजेन्सी । अमेरिका र इरानबीच युद्धविराम घोषणा भएपछि मध्यपूर्वको तनाव कम हुने अपेक्षा गरिएको छ । तर, युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति र अन्य आवश्यक वस्तुको आपूर्ति सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले बताएकी छन् ।
जर्जिएभाले युद्धविरामलाई सकारात्मक कदम भएको बताइन् । उनका अनुसार ऊर्जा आपूर्तिमा परेको असर कति समयसम्म रहन्छ र कति गम्भीर हुन्छ भन्ने कुराले विश्व अर्थतन्त्रमा पर्ने प्रभाव निर्धारण गर्नेछ ।
उनले भनिन्, ‘आइतबार भएको युद्धविराम घोषणा स्वागतयोग्य छ तर ऊर्जा तथा अन्य महत्वपूर्ण आपूर्ति प्रणालीमा भएको क्षति र अवरोध हटाउन समय लाग्नेछ ।’
अमेरिका र इरानले आइतबार मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने र विश्व व्यापारका लागि महत्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सहमति घोषणा गरेका छन् । यसले लामो समयदेखि चलेको हिंसा र विश्व अर्थतन्त्रमा परेको दबाब कम हुने अपेक्षा गरिएको छ ।
जर्जिएभाले आईएमएफले जुलाई ८ मा विश्व आर्थिक दृष्टिकोण (डब्लूईओ) को नयाँ अपडेट सार्वजनिक गर्ने जानकारी दिइन् । त्यसमा आर्थिक वृद्धि र मुद्रास्फीतिसम्बन्धी नयाँ अनुमान समावेश हुनेछ ।
यसअघि अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदनमा आईएमएफले युद्धको असरका कारण विश्व आर्थिक वृद्धिको अनुमान घटाएको थियो । युद्ध लामो समय चलेको अवस्थामा विश्व आर्थिक वृद्धि २ प्रतिशतसम्म झर्न सक्ने र मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्न सक्ने चेतावनी दिइएको थियो ।
जर्जिएभाले द्वन्द्वका कारण विश्व आर्थिक वृद्धिमा अझै ठूलो जोखिम रहेको बताइन् । विशेषगरी ऊर्जा आयातमा निर्भर र आर्थिक नीति बनाउन सीमित क्षमता भएका देशहरू बढी प्रभावित हुने उनको भनाइ छ ।
अफ्रिकाका केही देशमा यसको असर देखिन थालेको उनले बताए । इथियोपिया, मलावी र जाम्बियामा इन्धन अभाव भएको तथा लेसोथो, रुवान्डा र तान्जानियामा महँगो इन्धनका कारण उपभोक्ता प्रभावित भएको उनले उल्लेख गरिन् ।
आईएमएफले इथियोपिया, गाम्बिया र बुर्किना फासोलाई थप आर्थिक पहुँच उपलब्ध गराइरहेको तथा मलावीसँग नयाँ सहायता कार्यक्रमबारे छिटो छलफल गरिरहेको जनाएको छ ।
युद्ध सुरु भएयता पेट्रोलको खुद्रा मूल्य करिब ४० प्रतिशतले बढेको छ । एसियाका उदीयमान अर्थतन्त्रहरू पनि ऊर्जा मूल्य वृद्धिबाट प्रभावित भएका छन् ।
जर्जिएभाका अनुसार आईएमएफ सदस्य देशहरूलाई आर्थिक सहयोग गर्न तयार छ । तर, अहिलेसम्म धेरै सरकारले प्रत्यक्ष ऋणभन्दा पनि आर्थिक नीति सम्बन्धी सुझाव र मार्गदर्शन मागिरहेका छन् ।
उनले खाडी क्षेत्रका तेल निर्यात गर्ने देशहरू पनि युद्धको असरबाट प्रभावित भएको बताइन् । यस वर्ष ती देशहरूको आर्थिक वृद्धिमा ठूलो गिरावट आएको र आठमध्ये पाँच देशको अर्थतन्त्र संकुचनमा जाने अवस्था देखिएको उनको विश्लेषण छ ।