• Menu
s

तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सकियो

नेपाल प्रफिट

२०८३ असार २, ०५:२९

तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सकियो

भक्तपुर । तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सकिएको हो ।

पुरुषोत्तम मेलामा सत्संग, प्रवचन, भजनलगायतका प्रस्तुतिको अनुपम संयोजन रहेको मेला आयोजक समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिए । मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको र स्थानीय स्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा पुरुषोत्तम महात्म्य वाचन तथा दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको उनले बताए ।

भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेलगायतका विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो । मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, ‘यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनर्निर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।’

स–साना तीन खोलाको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले पनि चिनिने गरिन्छ । ६४ शिवलिंग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास छ । मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुंगाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिएपछि यहाँको धार्मिक महत्व र आकर्षण अझै बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताए ।

ख्यो पुखमा एकमहिने मेला सम्पन्न

यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एकमहिने मेला पनि सकिएको छ । सोमबार नै एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सम्पन्न भएको हो ।

यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने  र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।